दैलेखः पत्रकार एवम् साहित्यकार जँग बोगटीको उपन्यास ‘नपुरिएका घाउहरु’ को शनिवार एक औपचारिक कार्यक्रममा विमोचन गरिएको छ ।
दैलेखको ठाँटिकाँधमा जन्मिएका बोगटी एक दशकदेखि साहित्य क्षेत्रमा रुची राख्दै आएका थिए । उनले गजल, कविता, कथा र उपन्यासमा कलम चलाउनुका साथै रेडियोमा समेत कार्यक्रम संचालन गर्दै आएका छन् ।
बोगटीले उपन्यास ‘नपुरिएका घाउहरु’ मा धेरै पात्रहरु समेटेको पाईन्छ आफ्नो ब्यक्तिगत जीवन र केही काल्पनिक घटनाहरु समावेश गरेको र शिक्षा , नारि, देश, राजनीति सबै समावेश गरेका छन् ।
उनले यसअघि ‘प्रेम लहरि’ गजल संग्रह पनि निकालि सकेका छन् ।
भुँडिपुराण प्रकाशनबाट प्रकाशित भएको उपन्यासमा सरल, सहज र बुझिने नेपाली भाषामा लेखिएको छ । दैलेखको विकट गाउँ लकान्द्रमा जन्मिएका जंग बोगटी उमेरले २३ वर्ष पुगे । ठाँटिकाँध गाउँपालिका २ मा जन्मिएका बोगटी उच्च शिक्षा अध्ययन गर्न दैलेख सदरमुकाम आए सँगै पढाईखर्च व्यवस्थापन गर्न उनी सदरमुकामका बोर्डिङ्ग स्कुलमा शिक्षण गर्न थाले । बाध्यता र विवसताले दैनिकी चलाउँदै उनी विहान क्याम्पस जाने, दिनभर विद्यालयमा जाने र बँचेको समय साहित्य रचना र सृजनामा खर्च गर्ने गर्थे । सुरु सुरुमा त उनी केही गजल मात्रै लेख्ने गर्थे । लेख्दैजाँदा उनले लेखेका गजल एउटा संग्रहमा परिणत भयो ।
उनी आफ्नो मनभित्रको साहित्यको भारी विसाउन स्थानीय रेडियोमार्फत साहित्यिक कार्यक्रम सञ्चालन गर्न थाले । यसै शिलशिलामा उनले स्थानीय स्तरमा हुने विभिन्न साहित्यिक कार्यक्रमहरुमा सहभागि हुन थाले । उनका रचना मन पराउनेको संख्या दिनदिने बढ्दै गयो । उनको वाचन क्षमता पनि निखारिदै गयो । दर्शक र श्रोताको माया र साथ सहयोगले उनी झन लेखनलाई तिव्रता दिन थाले । लेख्दै जाँदा उनले आफुले भोगेका भोगाई लेख्ने निधो गरे ।
आफुसंग भएको एउटा मोवाईलको स्कृनमा उनी टाइप गर्न थाले । मनका वह, भोगाई र समाजको तितो यथार्थ लिपिबद्ध गर्न थाले । लेख्दै जाँदा उनको लेख एउटा उपन्यास नै बन्यो ।











